अफ्रिकी मुलुक इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा १ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाकी एकता अधिकारी भएको खुलेको छ ।
गत वर्षबाट इथियोपियाको राजधानी अदिस अबाबामा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)मा ‘लजेष्टिक अफिसर’ का रूपमा कार्यरत अधिकारी एक कार्यक्रममा सहभागी हुन केन्याको राजधानी नैरोबी जाने क्रममा आइतबार भएको विमान दुर्घटनामा उनको मृत्यु भएको हो । सो विमान दुर्घटनामा चालक दलका सदस्यसहित १ सय ५७ जनाको मृत्यु भएको थियो । इथियोपियन एयरलाइन्सको बोइङ ७३७ दुर्घटनामा विभिन्न ३० देशका नागरिक सवार थिए ।विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो विमान दुर्घटनामा १ नेपालीको मृत्यु भएको समाचार सार्वजनिक गरेका छन् ।
करिब ३० वर्षीया अधिकारीसहित इथियोपियामा ३ जना नेपाली विश्व खाद्य कार्यक्रममा कार्यरत छन् । करिब ५ वर्षदेखि इथियोपियामा खाद्य कार्यक्रम अधिकृतका रूपमा कार्यरत कमल ढुङ्गानाले अधिकारीसहित नेपालका नवीन कुँवर त्यहाँ कार्यरत रहेको जानकारी दिए । ‘एकता, नवीन र म, हामी ३ जना खाद्य कार्यक्रममा काम गर्छौं । म चाहिँ अलि दुर्गम क्षेत्रमा काम गर्छु । एकता चाहिँ राजधानीमै काम गर्थिन्,’ ढुङ्गानाले आजको न्युजसँग टेलिफोनमा भने, ‘म आइतबार मात्रै नेपाल आएँ, त्यही दिन यस्तो दुःखद खबर सुन्नुपर्यो ।’
सो विमान दुर्घटनामा एकतासँगै विश्व खाद्य कार्यक्रममा आबद्ध ७ जनाको मृत्यु भएको ढुङ्गानाले बताए । उनी बिदाको सिलसिलामा आइतबार मात्र काठमाडौं आएका थिए । उनले इथियोपियामा खाद्य कार्यक्रम अन्तर्गत काम गर्ने अन्य देशका साथीसँग बुझ्दा एकताको दुर्घटनामा मृत्यु भएको जानकारी दिएको बताए । उनले आजको न्युजसँग भने, ‘हामीले मृत्युको कुरा पुष्टि गर्ने कुरा आएन, खाद्य कार्यक्रमले यसबारे आधिकारिक धारणा ल्याउला । तर, साथीहरूसँगको कुराकानीमा विमान दुर्घटनामा एकता परेकी छन् ।’
अविवाहित एकताको पुर्ख्यौली घर काठमाडौं हो । उनको परिवार अहिले काठमाडौमा बस्दै आएको छ । उनी सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । पपुआ न्युगिनी र नेपालको कार्यालय गरी एकताले कुल ३ वर्ष १० महिना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५