कैलाली : टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
थारुवान तथा अखण्ड सुदुरपश्चिम आन्दोलनका क्रममा मुद्धा खेपिरहेका सांसद रेशम चौधरीसहित ११ जनाले जन्मकैदकाे सजाय पाएका हुन् । हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया , बृजमन डगौरा, राजेश चौधरी , वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम डगौरा चौधरी र रेशमलाल चौधरीलाई जन्मकैदको फैसला भएको हो । उनीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धि महलको १३(३) अनुसार जन्मकैदको सजाय भएको हो ।
अदालतले आरोपीमध्ये श्रवण चौधरी नाबालक देखिएको भन्दै उनलाई बालबालिका ऐन २०४८ को दफा ११(३) अनुसार सजायको आधा अर्थात १० वर्ष कैद हुने फैसला गरेको छ ।
२०७२ साल भदौं ७ गते थारु आन्दोलनका क्रममा कैलालीको टीकापुरमा सुरक्षाकर्मीमाथि आन्दोलनकारीले आक्रमण गरी नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकसहित ९ जनाको हत्या गरेका थिए ।
त्यसैगरी लक्ष्मण चौधरी, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी ,विश्राम भनिने जीत बहादुर डगौरा, प्रेम बहादुर चौधरी,किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्की राम चौधरी र रामप्रसाद चौधरीसहित १२ जनालाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १७ (३) अनुसार तीन वर्ष कैद सजाय हुने भएको छ । जसमध्ये ११ जनाको कैद अवधि पूरा भएकाले आजै रिहा हुनेछन् भने राम चौधरी ३० गते रिहा हुने छन् ।
हाँवर अलि जाँगा, विसराम चौधरी कुस्मी र रामनरेश चौधरीले सफाइ पाएका छन्। उनीहरु विरुद्ध डाँका चोरी मुद्दा रहेको थियो। कुल ५८ प्रतिवादी मध्ये ३१ फरार र २७ जना थुनामा रहेका थिए। त्यसमध्ये २१ जना दोषी ठहर भएका छन्।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५