पर्वत : झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिएको अभियोगमा बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला साविकको माझकोट गाविस-२ घर भई पोखरामा बस्दै आएका दलबहादुर कुमाल र उनका छोरा सुजन थापा भन्ने मीनबहादुर कुमाललाई पर्वत जिल्ला अदालतले कसुर ठहर गरी सजाय सुनाएको हो ।
दलबहादुरका छोरा मीनबहादुरले जिल्ला प्रशासन कार्यालय तनहुँबाट नेपाली नागरिकता लिएपछि पुनः झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट सुजन थापा नाम राखेर दोस्रो नागरिकता लिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्वतबाट २०६३ जेठ ३ मा जारी भएको सुजन थापा नामको नागरिकताको प्रमाणपत्रसहित निज मीनबहादुर कुमाललाई २०७४ माघ १३ मा पर्वत प्रहरीले गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो ।
सो विषयमा प्रहरीले सोधपुछ गर्दा निज कुमालले आफूले झुटो विवरण पेस गरेर नागरिकता लिएको स्विकारेका थिए । सोही प्रमाणका आधारमा कुमाललाई जिल्ला अदालत पर्वतबाट झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिएको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले मुख्य आरोपी मीनबहादुर कुमाललाई १ वर्ष २ महिना कैद सजायसँगै २० हजार रुपैयाँ जरिवाना, बाबु दलबहादुरलाई १ वर्ष कैद सजायसँगै २० हजार रुपैयाँ जरिवाना र नागरिकता प्रमाणपत्र बनाउन सिफारिस गर्ने तत्कालीन पर्वत जिल्ला कुर्घा गाविसका सचिव पिताम्बर शर्मालाई १५ हजार जरिवानाको फैसला सुनाएको
छ ।
सोही घटनामा संलग्न रहेको आरोपमा पर्वत जिल्ला अदालतबाट मुद्दा खेपिरहेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोपीकृष्ण ढुङ्गाना र नागरिकता फाँटका कर्मचारी लोकनारायण लामिछानेलाई अदालतले सफाइ दिएको छ । घटनाका आरोपित मीनबहादुर र दलबहादुर यसअघि नै कारागारमा पुर्पक्षका लागि थुनामा छन् भने तत्कालीन गाविस सचिव शर्मा र सहायक प्रमुख जिल्ला अधिकारी निवृत्त भएका छन् । फाँटवाला लामिछानेको एक वर्षअघि नै मृत्यु भइसकेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५