काठमाडौं ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्याउन नहुने भन्दै आन्दोलनरत शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।
वार्षिक परीक्षा र एसईई परीक्षा नजिकिएसँगै पठनपाठन तीव्र बनाउनुपर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुनेगरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्बाध रूपमा पठनपाठन सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरंगित नहुन सम्बन्धित पक्षमा आह्वान समेत गरेका छन् । -रासस
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५