काठमाडाैँ : नेपाल आयल निगमले गलत हल्लाको पछाडि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ ।
निगमले मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा हल्लाको पछाडि नलाग्न उपभोक्तालाई आग्रह गरेको हो ।
इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हो।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ । सन् २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार ७५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ।
निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ । उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनै पनि समस्या नभएकाले अनावश्यक रूपमा ग्यासको सिलिण्डर भण्डारण नगर्नसमेत निगमकाे अनुरोध छ।
पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघ लगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् भने निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न सकेकाे छैन् ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५