काठमाडाैँ : राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले बिहीबार शोक विज्ञप्ति जारी गर्दै हेलिकप्टर दुर्घटनाबाट देशले एउटा कुशल नेता गुमाएको बताएका छन् ।
‘राष्ट्रले भरोसा गर्न सक्ने क्षमतावान व्यक्ति हुनुहुन्थ्यो । उहाँको दुखद निधनबाट राष्ट्रले राज्यको नेतृत्व गर्न सक्ने सम्भावनायुक्त नेता गुमाएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिभावान जनप्रीय नेता गुमाएको छ । सरकारले सम्भावनालाई यथार्थमा बदल्न सक्ने सक्षम मन्त्री गुमाएको छ भने संसदले एक तर्कयुक्त, क्षमतावान, कुशल सांसद गुमाएको छ, जारी विज्ञप्तीमा भनिएको छ।
उनले निजी क्षेत्रबाट मुृलुकको समृद्धि तथा विकासमा समर्पित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनबाट राज्यले एक सफल उद्यमी गुमाउन पुगेको छ भने राष्ट्रसेवक कर्मचारी तथा हेलिकोप्टर पाइलटको निधनले पनि राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५