काठमाडौं : ललितपुरको नख्खुलगायत देशका विभिन्न स्थानमा गरिएको एनसेल टावर आक्रमणको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।
चन्द नेतृत्व नेकपाका एक नेताले भने, ‘हामीले पैदलयात्री लक्षित गर्ने गरी प्रेसर कुकुर बम पड्एका होइनौ । तर, मानवीय क्षति भयो, त्यसका लागि क्षमाप्रार्थी छौं । हामीले एनसेलले गर्दै आएको घोटलामाथि चेतावनी दिन मात्र बम पड्काएका हौं ।’
शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा एक जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएका थिए ।
विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विष्फोट आफूहरुले गरेको फोनमा स्विकार गरेका हुन् । आफ्नो पार्टीको सर्वसाधारणलाई लक्षित गरेर बिष्फोट गराउने कुनै लक्ष्य नभए पनि उक्त स्थानमा मानवीय क्षति भएकोमा सिंगो पार्टी पंक्ति नै दुःखी रहेको बताएका छन् ।
यसअघि एनसेलमाथि अर्बौं रुपैयाँ कर छलेको, प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँ कर्मचारीहरूलाई खरिद गरेको लगायतका आरोप विप्लव समूहले लगाउँदै आएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५