काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नख्खु बम विस्फोटमा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन्।
शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसँगै पुगेका गृहमन्त्री रामबहादुर थापाले सो कुरा बताएका हुन्। यसका साथै,उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाए।
घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।
ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटमा परी तीन जना घाइते भएकोमा लम्जुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।
भूमिगत विप्लव समूहतर्फ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५