काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिन शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा जाँदै छन्।
आगामी सोमबार हुने परिषदको उद्घाटन सत्रमा सहभागी हुन मन्त्री ज्ञवालीउनी बेलुकी सवा ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। मंगलबार उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्नेछन्। उनले युरोपेली आणविक अनुसन्धान सङ्गठनको पनि भ्रमण गर्नेछन्।
फागुन १६ गते स्वदेश फर्कनुअघि मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम छ। नेपाल अहिले राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य हो।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५