अभियन्ता सुनिता दनुवारले महिला बेचबिखनमा ठूला राजनीतिक दलका नेता र पहुँचवाला व्यक्तिहरूकै संलग्नता हुने गरेको बताएकी छिन् । यद्यपी, उनले संलग्न व्यक्तिहरुको नाम भने खुलासा गरिनन् । कतिपय अवस्थामा महिला बेचबिखनविरुद्धकी अभियन्ताहरुले डर र धाकधम्कीसमेत सामना गर्नुपरेको उनले बताइन् ।
विवेकशील साझा पार्टीले शुरु गरेको ‘समता संवाद श्रृंखला’ मा उनले आफ्नो धारणा राखेकी हुन् । दनुवार चर्चित अन्तरास्ट्रिय पुरस्कारहरु ‘डेमोक्रेसी एण्ड ह्युमन राइट्स’ र ‘ट्राफिकिङ्ग इन पर्सन हिरो’ टिआइपी(हिरो २०१८ बिजेता हुन्। आफ्नो दर्दनाक जीवनकथा समेटेर उनले ‘आँसुको शक्ति’ पुस्तक लेखेकी छिन ।
। भारतका विभिन्न बेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्दार गर्न र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्ने शक्ति समुह संस्था सञ्चालन गरिरहेकी छिन् ।
विवकेशिल साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरक्रिया शृंखलामा समानता, सामाजिक न्याय र मानवमर्यादाका विभिन्न पाटाहरुवारे खुला छलफल र समताका लागि जारी अभियानमा अग्रभागमा रहेर काम गरिरहेका अभियन्ताहरुलाई निम्ताउने गरिएको केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए।
पार्टी मुख्यालय बखुन्डोलको प्रेक्ष्यालयमा हुने समता संवाद शृखलामा यसअघि चर्चित पुरस्कार फ्रिडम फ्रम फियर विजेता पूर्वकमलरी उर्मिला चौधरी, उत्प्रेरक वक्ता श्रृष्टी केसी लगायतले आफ्ना अनुभव राखेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५