काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा एपीएफ विजयी भएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा विभागीय क्लब एपीएफले न्यूरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै ३ अंक जोडेको एपीएफ तालिकाको सातौं स्थानमा पुगेको छ ।
पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको एपीएफले दोस्रो हाफमा निर्णायक गोल गरेको हो । खेलको तेस्रो मिनेटमा नै युवराज खड्काको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो । तर १५ औं मिनेटमा एनआरटीले खेल बराबरी गर्यो ।
उसका लागि राजेश परियारले गोल गर्न सफल भए । तर त्यसपछि दुबै टिमबाट गोल भएन र पहिलो हाफ एक एक गोलको बराबरीमा सकाएका थिए । दोस्रो हाफमा भने एपीएफ खेलमा फर्कन सफल भयो ।
डी बक्स भित्र एनआरटीका असिम गुरुङले एपीएफका युवराज खड्कालाई फल गरे पछि पेनाल्टी मार्फत निर्णायक गोल सम्भव भएको हो । पेनाल्टीलाई सुदीप सिखरकारले गोलमा परिणत गर्दै ७३औं मिनेटमा एपीएफलाई २–१ को अवस्थामा पुर्याए ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५