काठमाडौं । नेपालका ६ खेलाडीले आगामी २६ देखि २८ सेप्टेम्बर २०२५ सम्म श्रीलङ्काको कोलम्बोस्थित कार्टिङ सर्किटमा हुने दोस्रो संस्करणको एशिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप मा प्रतिस्पर्धा गर्ने भएका छन्।
सन् २०२३ मा मलेसियामा सुरु भएको यो च्याम्पियनसिप एशिया–प्यासिफिक क्षेत्रमा आयोजना हुने सबैभन्दा ठूलो मोटरस्पोर्ट्स प्रतियोगिता मानिन्छ। अटो–जिमखाना, क्रस–कार अटोक्रस, कार्टिङ स्प्रिन्ट, कार्टिङ एन्डुरेन्स, कार्टिङ स्लालम तथा ई–स्पोर्ट्स लगायतका विधामा विभिन्न राष्ट्रका राष्ट्रिय टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपालबाट अटो–जिमखाना, क्रस–कार अटोक्रस र ई–स्पोर्ट्स विधामा आशिष भारती, राजकुमार कार्की, बिपास्ना तामाङ, जय प्रताप मास्के, रबिन सुनवार र रोशन अधिकारी ले सहभागिता जनाउने छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का कार्यकारी निर्देशक गोविन्द भट्टराई का अनुसार नेपालले २०११ मा अन्तर्राष्ट्रिय अटोमोबाइल्स फेडेरेसन (FIA) र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (FIM) को सदस्यता लिएपछि अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्स यात्रा सुरु गरेको हो। उनले भने, “हालसम्म करिब ५० जना नेपाली ड्राइभर र राइडरले एशियाली र विश्वस्तरीय प्रतिस्पर्धामा भाग लिइसकेका छन्। यद्यपि पोडियमसम्म पुग्ने अवसर भने चार पटक मात्र मिल्यो। यो च्याम्पियनसिपले त्यो उपलब्धिलाई अझ अगाडि बढाउने अपेक्षा गरेका छौँ।”
त्यस्तै, टिम म्यानेजर तथा मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार ले नेपाली खेलाडी उत्कृष्ट तयारीसहित श्रीलङ्का जाने बताए। उनका अनुसार, “सवै खेलाडी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताबाट छनोट भएर आएका छन्। नासा नेपालले टिमलाई आवश्यक सहयोग गर्दै आएको छ, र हामीलाई श्रीलङ्कामा राम्रो नतिजाको विश्वास छ।”
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२