काठमाडौं, भदौ १० – नेपालकै प्रमुख दौड प्रतियोगिता काठमाडौं म्याराथन २०२५ आगामी नोभेम्बर १ मा आयोजना हुने भएको छ । “सम्पदा जोगाऔं, स्वास्थ्यका लागि दौडौं” भन्ने नारासहित हुने यो कार्यक्रमले खेलमार्फत स्वास्थ्य र एकताको सन्देश दिने लक्ष्य लिएको छ ।
एनआरएस स्पोर्ट्स फाउण्डेसनको आयोजनामा हुने म्याराथनमा विद्यालयका विद्यार्थीदेखि अनुभवी खेलाडी, शिक्षक, व्यवसायी, बैंक तथा कम्पनीका कर्मचारी, रेस्टुरेन्ट स्टाफ हुँदै सिईओसम्म सहभागी हुनेछन् । साना बालबालिकाहरू पनि परिवारसँगै दौड्न सक्ने व्यवस्था गरिएको छ ।
यो संस्करणमा ४० वर्षमाथि उमेर समूहका लागि विशेष मास्टर क्लास (४०+, ५०+, ६०+) दाउड समावेश गरिएको छ । साथै विद्यार्थीहरूको लागि ३ किमी स्कुल रन, सर्वसाधारणका लागि ३ र ५ किमी ओपन रन, १० किमी ओपन रन, साथै विभिन्न कर्पोरेट टोलीहरूको लागि ग्रुप रन समेत हुनेछ ।
हालसम्म करिब १००० जना सहभागीले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ भने थप दर्ता खुला छ । आयोजकका अनुसार काठमाडौं म्याराथन केवल प्रतिस्पर्धा नभई, सम्पदा संरक्षण, अनुशासन र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने अभियानका रूपमा अघि बढाइनेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२