काठमाडौं । विश्व फुटबलको निकै प्रतिष्ठित मानिने बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् ।
फ्रान्सको पेरिस मंगलबार बिहान भएको अवार्ड कार्यक्रममा लुका मोड्रिचले फुटबलका महान् हस्ती लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मोड्रिचले रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधी जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन उनको मुख्य भूमिका रहेको छ । उनले यस वर्षको फिफा वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।
यसवर्ष पनि अवार्डको मुख्य दाबेदारको रुपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई हेरिएको थियो ।
त्यस्तै, ब्राजिलका नेयमार, फ्रान्सका केलियन एम्बाप्पे, फ्रान्स कै राफायल भराने, एन्टोनी ग्रिजम्यान, इजिप्टका मोहम्मद सलाह, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुयनी, र इंग्ल्यान्डका ह्यारी केन पनि अवार्डको दौडमा थिए ।
पछिल्लो १० वर्षपछि पहिलो पटक रोनाल्डो र मेस्सी यो अवार्ड जित्न असफल भएका हुन् । सन् २००७ मा ब्राजिलियन काकाले बालोन डी’ओर जितेपछि मेस्सी र रोनाल्डोले समान ५–५ पटक यो अवार्ड जितको थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५