पोखरा । पोखरामा आगामी फागुन ७ गते अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ ।
शुक्रबार पोखरामा भएको पत्रकार सम्मेलनमा भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ १३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७५ हुने जानकारी दिइएको हो ।
पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गर्ने उद्देश्यले खेल आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रन फर फनसहित विभिन्न ८ इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएकाहरुका लागि ४ सय मिटर पुरुष तथा १ सय मिटर महिला र १ सय मिटर दृष्टिबिहीन हृविल चेयर समावेश गरिनेछ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७० हजार र तृतीय पुरस्कार ५० हजार रहेको साथै १० कि.मी. पुरुष/महिला दौडमा प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्र/छात्रा दौडामा प्रथमले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
प्रतियोगितामा ४ सय मिटर ह्वीलचेयर पुरुष/महिला र १ सय मिटर दृष्टिविहीन दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५