स्पेनिस च्याम्पियन बार्सिलोनाले समूह चरणको दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ ।
सान सिरोमा भएको इन्टर मिलानबिरुद्धको खेल नाटकीय बराबरीमा सकिएपछि बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।
घाइते लियोनेल मेस्सी बिना मैदानमा उत्रेको बार्सिलोनाले खेलको ८३ औँ मिनेटमा माल्कोमको गोलको मद्दतले अग्रता दिलाएको थियो तर चार मिनेटपछि नै माउरो इकार्डीले गोल गर्दै खेल बराबरी गरे ।
बराबरीसँगै इन्टर समूह बीको दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको टोटनहमभन्दा तीन अंकले अघि रहेको छ ।
उता, एक गोलले पछि परेको स्थिति उल्टाउँदै पिएसभी आइन्डहोभनलाई २–१ गोल अन्तरले हराएर स्पर्सले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जिवित राखेको छ ।
लुक डिजोङले खेलको दोस्रो मिनेटमा स्पर्स खेलमा पछि परेको थियो । खेल सकिन १२ मिनेट छँदासम्म गोल फर्काउन नसकेपछि स्पर्स प्रतियोगिताबाट बाहिरिने संघारमा थियो ।
तर, ह्यारी केनले खेलको ७८ औँ मिनेटमा बराबरी गोल फर्काए र खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा विजयी गोल गरे ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५