काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) मा शुक्रबार भएको खेलमा पोखरा पल्टनविरुद्ध धनगढी एक्सपर्टले सनसनीपूर्ण जित हात पारेको छ ।
लगभग हारको सँघारमा पुगेको धनगढीलाई कप्तान दीपेन्द्र ऐरीले २६ बलमा ४ छक्का र ४ चौकासहित ४९ रन बनाउदै जीत दिलाउन सफल भए ।
आजको खेल हारेको खण्डमा उपाधि होडबाट लगभग बाहिरने अवस्थामा रहेको धनगढीका लागि यो जित निकै महत्वपूर्ण बन्यो । धनगढीका लागि पिटर ट्रेगोले अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३४ बलको सामाना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए ।
बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । पोखराका लागि रोहित कुमार पौडेलले ३१, रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।
जितसँगै धनगढी आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५