काठमाडौं । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।
विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत चन्द्रागिरि नगरपालिकामा रहेको वेष्ट काठमाडाँैं फुटबल क्लबलाई सहयोग गर्ने भएको हो ।
क्लबका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेज र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष एवं बिबी ट्रष्टका अध्यक्ष भट्टबीच सहयोगसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको अध्यक्ष भट्टले जानकारी दिए ।
सम्झौताअनुसार क्लबले काठमाडौँ फुटबल क्लबलाई आर्थिक तथा खेल सामग्री सहयोग गर्नेछ ।
अध्यक्ष भट्टले सम्झौताले नेपाली फुटबलमा नयाँ आयाम कोर्न सफल भएको बताए । उनले भने, ‘स्पेनिस क्लबहरूले विश्वका विभिन्न मुलुकमा आफ्ना फाउन्डेशनमार्फत सहयोग मात्र गरेका छैन, खेलाडीहरूलाई अवसर पनि दिएका छन् । त्यसैले यो नेपाल र क्षमतावान् नेपाली खेलाडीहरूका लागि पनि ठूलो अवसर हो ।’
एथ्लेटीको म्याड्रिडका बजार प्रबन्धक लिपेजले यो क्लबको शुरुवाती सहयोग मात्र रहेको र पछिल्ला दिनमा यसको दायरा फराकिलो पार्दै लैजाने बताए ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५