काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोट खेलमा नेपालले लगातार चौथो जित निकालको छ । आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान मात्र १६.४ ओभरमा ३३ रनमा सिमित बन्यो । भुटानका ४ खेलाडी शून्य रनमा आउट भए भने एक मात्र खेलाडीले दोहोरो अंकमा रन जोड्न सके ।
नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए ।
यसअघि भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो । पहिलो ब्याटिङ गरेको नेपालले ओपनर वसन्त भण्डारीलाई शुन्य रनमा गुमाए पनि अर्का ओपनर प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट रहेर ७५ रन बनाए । उनले मात्र ६८ बल ६ चौका र २ छक्का हिर्काए ।
उनलाई अनिल कुमार साहले २७ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले क्रमशः १३ र १५ रन बनाए । करण केसी ११ रनमा नटआउट रहे ।
यसअघि नेपालले म्यान्मार, आयोजक मलेशिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०७५