काठमाडौं । एसिया कप छनोटमा हङकङविरुद्ध निकै खराब खेलेको नेपालले हङकङलाई ९६ रनको मात्र झिनो लक्ष्य दिएको छ ।
क्वालालम्पुरको यूकेएम ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।
पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए ।
तेस्रो नम्बरमा आएका कप्तान पारस खड्का पनि अनिलकुमार साहसँग २२ रनको साझेदारी गर्दै आउट भए । उनले मात्र १४ रन बनाउन सके ।
ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिल १५ र ज्ञानेन्द्र १२ रनमा आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शुन्य रनमै पभेलियन फर्किए । सातौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर मात्र ५८ रन थियो ।
आरिफ शेख र बसन्त रेग्मीले आठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे ।
आरिफ १८ रनमा आउट भए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमायो र ९५ मा अलआउट भयो । बसन्त १५ रनमा अविजित रहे ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५