क्वालालम्पुर । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो ।
उत्कृष्ट सुरुवात गरेको युएईका लागि अश्फाक अहमद र चिराग सुरीले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे । तर १२.१ ओभरमा बसन्त रेग्मीले युएईका अश्फाक अहमदलाई ४५ रनमा एलबीडब्लू धरापमा पारे । अर्को ओभरको पहिलो बलमै सन्दीप लामिछानेले कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गरे । यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।
तर, क्रिजमा टिकिरहेका सुरीले तेस्रो विकेटका लागि रमिज शाहजादले ६६ रनको साझेदारी गर्दै यूएईको पारी उकाले । सुरी ६५ र शाहजाद ३५ रनमा आउट भए । यद्यपि सातौं नम्बरमा ब्याटिङ गर्न आएका अद्नान मुफ्तीले अविजित ५७ रनको पारी खेलेपछि यूएईले सम्मानजनक स्कोर बनायो ।
नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५