काठमाडौं । सागर पुनको उत्कृष्ट ब्याटिङसँगै एसिया कपमा नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ सुरु गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय २१ रन बनायो ।
ओपनिङमा राम्रो सुरुवात गर्न नसकेको नेपालले ३१ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका सुवास खकुरेल मात्र ४ रनमा आउट भए । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले केही सम्हालिने प्रयास गरेका थिए तर सफल भएनन् , पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो ।
राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । ओमानको बलिङ अगाडि नेपालका भरपर्दा खेलाडी खासै टिक्न सकेनन् । जसमा कारण नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।
त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुँदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक हिर्काए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न नपाउँदा नेपालले एक सय ७८ रनमा छैटौँ विकेट गुमायो ।
त्यसपछि करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुँदा बसन्तले खाता खोल्न पाएनन् ।
ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०७५