काठमाडौं । नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेदरल्याण्ड्सबाट १९० रनको लक्ष्य पाएको छ ।
नेदरल्याण्ड्सले घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४७.४ ओभर खेल्दै सबै विकेट गुमाएर १८९ रन बनायो ।
नेदरल्याण्ड्सका लागि रिप्पोनले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । मिकेल रिप्पनले पारस खड्काको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट हुनुअघि ७६ बल खेलेर २ चौका प्रहार गरेका थिए । त्यस्तै लिडेले ३० तथा स्टेफेन म्याबुर्गले २९ रनको पारी खेले ।
डच टोलीलाई मध्यम स्कोरमा रोक्न नेपालका कप्तान पारस खड्काले ४, सोमपाल कामीले ३ तथा सन्दिप लामिछाने, करण केसी र बसन्त रेग्मीले १–१ विकेट लिए।
नेपालका लागि ओडिआईमा सर्वाधिक विकेट लिने क्रममा कप्तान खड्काले १० ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट लिए ।
ब्राकलाई १ रनमै गुमाएको डच टोलीका लागि माइवर्ग र कुपरले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरे । कुपरलाई कप्तान पारसले एलबीडब्लु आउट पारेपछि नेपालले दोस्रो सफलता पायो । त्यसपछि वेस्ले बारेसीलाई पारसले आरिफ शेखको हातबाट क्याचआउट गराए ।
यस्तै खड्काले ४० औं ओभरमा लगातार दुई विकेट लिए । पारसले ४० औं ओभरको दोस्रो बलमा ५१ रनमा मिकेल रिप्पन र सोही ओभरको चौथो बलमा सेन स्नाटरलाई खाता नै खोल्न नदिइ बोल्ड गरे ।
यस्तै सोमपाल कामीले २ विकेट लिने क्रममा नेपालका लागि पहिलो वानडे विकेट उनैको नाममा रह्यो । ८.४ ओभर बलिङ गरेका कामीले ३४ रन खर्चिएर १ मेडनसहित ३४ रन दिए ।
सोमपाल कामीले खेलको तेस्रो ओभरमा डानिएल ब्राकको विकेट लिँदै नेपालको लागि पहिलो ओडिआई विकेट लिने खेलाडीको कीर्तिमान बनाए ।
त्यसपछि डच टोलीका बास डे लिडलाई सोमपालले ३३.४ ओभरमा विकेट किपर अनिल साहको हातबाट आउट बनाए । यस्तै ४७.४ ओभरमा क्लासेनलाई ११ रनमा आउट गरे ।
यस्तै पुरै १० ओभर बलिङ गरेका नेपाली युवा स्पिनर सन्दिप लामिछानेले १ विकेट लिने क्रममा ४२ रन खर्चिए ।
२९ रन बनाएर खेलिरहेका माइवर्गलाई सन्दीपले १२.२ ओभरमा बोल्ड आउट गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५