रुसमा जारी विश्वकप फुटबलको क्वार्टर फाइनल अन्तर्गत शुक्रबार राति भएका दुई छुट्टाछुट्टै खेलबाट फ्रान्स र बेल्जियम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
उरुग्वेलाई २–० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।
खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।
योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो ।
यस्तै, राति भएको दोस्रो खेलमा यसअघि पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै बेल्जियम सेमिफाइनलमा पुगेको छ ।
नेसर चार्डीको कर्नरमा फर्नान्डिन्होेले आत्मघाती गोल गरे । भिन्सेन्ट कम्पोनीको हेड बल उनको काँधमा लागेर गोल हुन पुगेको थियो ।
फर्नान्डिन्होका म्यानचेष्टर सिटीका टिममेट डि ब्रुडेनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा उनले डि बक्स बाहिरबाटै गोल गरे ।
रोमाञ्चक खेलको सुरुमा नै ब्राजिलको प्रहार पोष्टमा लागेको थियो भने थिएगो सिल्भाले गोल गर्ने मौका गुमाएका थिए ।
खेलको ७६ औं मिनेटमा काउटिन्होको पासमा रेनाटो अगुस्टाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउन आश देखाएका थिए ।
यससँगै उरुग्वे र ब्राजिल घर फर्केका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५