काठमाडौँ । ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको पहिलो दिन भएका दुई खेल न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले जितेका छन् ।
पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले मछिन्द्र क्लबलाई ३–१ ले पराजित गर्यो । १५ औं मिनेटमा मछिन्द्रका कप्तान शरद राईको गोलसँगै पछि परेको एनआरटीका लागि ३० औं मिनेटमा शाहिल केसीले बराबरी गोल गरे । त्यसको दुई मिनेटमै एनआरटीले अग्रता लियो । विपिन थापाको पासमा विशाल क्षेत्रीले गोल गर्दै एनआरटीलाई अगाडि बढाए । निर्मल घिसिङले खेलको अन्तिम मिनेटमा गोल गरे ।
यस्तै दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती क्लबमाथि ४–० को फराकिलो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि दिनेश हेन्जनले २ र सेसेहाङ आङदेम्बे र विवेक चौधरीले १–१ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकबाट आएको बललाई सरस्वतीका गोलरक्षक विष्णु केसीले बचाउन नसक्दा सेसेहाङले सिक्स यार्ड बक्सभित्रबाट सहजै गोल गरे ।
दोस्रो हाफको ६८ औं मिनेटमा आर्मीका कप्तान दिनेशले गोल गर्दै अग्रता दोब्बर पारे भने ७५ औं मिनेटमा विवेक चौधरीले तस्रो गोल गरे ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५