चितवन । चितवनमा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट २०१८ हुने भएको छ । नेपालय इन्टरनेशनलको आयोजना यही चैत १३ गतेदेखि नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता हुन लागेको हो । आयोजकले आज नारायणगढमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी बारे जानकारी दिएको हो ।
एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटका म्यानेजिङ डाईरेक्टर सुवास प्रधानले प्रतियोगितामा चितवनका १४ वटा भन्दा बढि कलेज टिमको सहभागिता रहने जानकारी दिनुभयो । “चितवनका सबै कलेजहरुलाई सहभागिताका लागि अनुरोध गरेका छौं, १४ वटा भन्दा बढि कलेजले सहभागिता जनाउने प्रतिवद्धता जनाई सकेको छ”–प्रधानले भन्नुभयो । उहाँँले नेपालमा क्रिकेट विकासका लागि कलेजस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताका विजेताले क्षेत्रीय प्रतियोगिता खेल्न पाउनुको साथै प्रत्येक खेलाडीले ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने र उपविजेताले चार वटा ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने प्रधानले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व राष्ट्रिय कप्तान राजु खड्काले नेपालले एक दिवसीय मान्यता पाउँदैमा क्रिकेटको विकास नहुने भन्दै स्कूल र कलेजस्तरमै खेलाडी उत्पादन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “हामी ७० जना खेलाडीको भरमा ठूलो सपना देख्दैछौं, यही अवस्थामा रहे चार वर्षपछि हामी कसरी अघि बढ्न सक्छौं”–खड्काले प्रश्न गर्नुभयो । उहाँँले एक्सपर्ट कलेज प्रिमियर लिगले नयाँ–नयाँ खेलाडी उत्पादन गर्नमा सघाउ पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
यस्तै चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनमा यस्ता किसिमका प्रतियोगिताले खेलाडीहरुलाई अवसर प्रदान गर्ने बताउनुभयो । चितवनमा क्रिकेट खेल मैदान अभावमा पनि खेलाडीले राम्रो प्रदर्शन गरिरहेको भन्दै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नीजि कलेजहरुको संस्था हिसान चितवनका अध्यक्ष भुपेन्द्र धितालले नेपालले क्रिकेट एक दिवसीय मान्यता पाई सकेको अवस्थामा क्रिकेट र शिक्षालाई संगै लैजानुपर्ने बताउनुभयो ।
“नेपाललाई विश्वमा चिनाउन क्रिकेट गतिलो माध्यम बनेको छ, अब खेलकुद र शिक्षासंगै संगसंगै लैजानुपर्छ”–अध्यक्ष धितालले भन्नुभयो ।
सोही कार्यक्रममा बोल्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपालमा क्रिकेटको क्रेज बढिरहेको बेला सामाजिक उत्तरदायित्व अन्तरगत क्रिकेटको विकासका लागि सहयोग गर्दै आईरहेको बताउनुभयो । उहाँँले आगामि दिनमा पनि क्रिकेटलगायत खेलकुदको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०७४