काठमाडौँ । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले प्लेअफको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी)लार्इ ६ विकेटले पराजित गरेको छ।
युवा खेलाडी दीपेन्द्रसिंह एेरीको छक्काको मद्दतले नेपालले २३ अौँ अोभरको अन्तिम बलमा पीएनजीले दिएको ११५ रनको लक्ष्य पूरा गर्यो।
पीएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ अोभरमा ४ विकेट गुमाएर भेटाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह एेरीले ७६ बलको सामना गर्दै १ चौका तथा ३ छक्काको मद्दतमा अर्धसतक पूरा गर्दै जित दर्ता गराए।
यस्तै, अारिफ सेखले २६ तथा पारस खड्काले २० रन जोडे भने अनिलकुमार साह ९ र ज्ञानेन्द्र मल्ल १ रनमा अाउट भएका थिए। त्यस्तै रोहीत पौडेल ३ रनमा नट अाउट रहे ।
पीएनजीका नोर्मन भाउवले २ तथा एलेइ नाव र जोन रेभाले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले २७.२ अोभरमा सबै विकेट गुमाएर १ सय १४ रन जोडेको थियो। पीएनजीका चाल्स जोर्डन अामिनीले सर्वाधिक १९ रन जोडे। उनीसँगै जोसन किलाले १५ तथा अशोदल्लाह भाला, चाड सोपुर र किपलिन डोरिगाले समान १० रन जोडेका थिए।
नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह एेरीले समान ४-४ विकेट लिए। ४.२ अोभर बलिङ गरेका दीपेनद्रले १४ रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै, ८ अोभर बलिङ गरेका सन्दीपले २९ रन खर्चेर ४ विकेट लिएका थिए। उनीसँगै सोमपाल कामी र करण केसीले पनि एक विकेट हात परे।
एकदीवसीयको मान्यता पाउन अर्को खेलको नतिजामा भर
जितसँगै नेपालले एकदिवसीय मान्यता पाउनका लागि नेदरल्याण्ड र हङकङबीच जारी प्लेअफको अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ।
नेदरल्याण्डले उक्त खेल जितेमा नेपालले सोझै एकदिवसीय मान्यता पाउनेछ भने हङकङले जितेमा नेपालले हङकङसँग शनिबार एकदिवसीय मान्यताका लागि खेल्नुपर्नेछ।
सातौं स्थानका लागि हुने उक्त खेलको विजेताले एकदिवसीय मान्यता पाउनेछ। उक्त खेलमा नेदरल्याण्डले दिएको १ सय ७५ रनको लक्ष्य हङकङले पछ्याइरहेको छ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४