काठमाडौं । विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । योसँग सुपर सिक्समा पुग्ने नेपालको सम्भावना क्षिण बन्दै गएको छ ।
नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । कप्तान पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे ।
२६ औं ओभरको अन्तिम बलमा रसिद खानको बलमा ज्ञानेन्द्र पेवेलियन फर्किए । त्यसपछि ६ रन जोड्दै गर्दा कप्तान पारस खड्का व्यक्तिगत ७५ रनमा पभेलियन फर्किए ।
दिपेन्द्र सिंह ३१ र आरिफ शेख २३ रनमा अाउट हुँदा अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
अफगानिस्तानका नाबीले ४ विकेट लिए भने रसिद खानले ३ विकेट आफ्नो नाममा लेखाए ।
अर्को खेलमा हङकङ जिम्बाब्वेसँग पराजित भएको छ । हङकङ र अफगानिस्तानको समान २/२ अंक छ । तर, अफगानिस्तानले समूह चरणका सबै खेल खेलिसकेको छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २-२ अंक हुनेछ र रन रेटका आधारमा अघिल्लो चरा पुग्ने टोली तय हुनेछ ।
तर, सुपर सिक्समा स्थान बनाउन नेपालले अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउनुपर्छ । नेपाल हार्यो भने हङकङ ४ अंकका साथ सुपर सिक्समा पुग्नेछ ।
हारपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली टोलीका कप्तान पारस खड्काले अन्तिम खेलमा जितका लागि प्रयास गर्ने बताएका छन् ।
खेलपछि कप्तान पारस खड्काले भने, ‘यदि ३०/४० थप रन जोड्न सकेको भए अवस्था अर्कै हुन्थ्यो ।’
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०७४