चितवन । भारतको हुने आइपिएल क्रिकेटमा छनौट भएका युवा नेपाली खेलाडी सन्दीप लामिछानले आफ्नो बलिङ देखेरै दिल्ली डेयर डेभिल्सले छनौट गरेको बताउनुभएको छ । आइपीएल छनौट हुनुुको साथै आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को समेत ‘प्लेयर अफ द टुर्नामेन्ट घोषित बन्न सफल खेलाडी लामिछाने सोमबार गृहजिल्ला चितवन आउने क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले आईपीएल छनौट हुनुमा आफ्नो बलिङको साथै सबैको योगदान रहेको बताउनुभयो । “मैले दिल्लीमा ट्रायल दिएरै आफ्नो बलिङ देखाए, सबैको माया र सहयोगले गर्दा छनौट हुन पाए”–सन्दीपले भन्नुभयो । उहाँले आईपीएल खेल्ने इच्छा धेरैदेखि नै भएपनि छोटो समयमै यो सफलता पाउनु भने अविस्मरणीय रहेको बताउनुभयो । सन्दीपले दिल्लीका तर्फबाट प्लेइङ ११ लिष्टमा पर्नेमा आशावादी रहेको बताउनुभयो ।
युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । दिल्लीले सन्दीपलाई यो सिजनको आईपीएलका लागि २० लाख भारतीय रुपैयाँमा किनिसकेको छ । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु मा सन्दीप म्यान अफ टुर्नामेन्ट बनेपछि आईपीएल टोली दिल्ली डेयर डेभिल्सले पनि बधाई दिएको थियो ।
सन्दीपले प्रतियोगितामा १७ विकेट लिएका थिए । नेपाली क्रिकेटको स्तरमा आएको उतार चढावबारे सन्दीपले एक्सपोजर र एक्सपेरिएन्स नहुँदा यस्तो समस्या आएको बताउनुभयो । नेपालले खेल सुधार्न ५० ओभरका म्याचहरु बढि खेल्नुपर्ने सन्दीपको भनाई छ । टि २० फर्मयाटका खेलहरु बढि खेल्छौं यसले गुणस्तर सुधार नगर्ने उहाको भनाई छ ।
सर्वा्धिक चर्चामा रहेका युवा लेग स्पिनर सन्दीपले नेपाल विश्व कप छनौट प्रतियोगितामा दोस्रो हुँदै विश्वकप खेल्ने दावी समेत गर्नुभयो । “डिभिजन टु मा पनि हामी सबैको मेहनतले विश्वकप छनौटमा पुगेका छौं, अब छनौट चरणमा टप टु हुँदै विश्वकप छनौट खेल्छौं ।”
सन्दीपले नेपाललाई टेष्ट खेल्ने राष्ट्र बनाउने सपना संगालेको बताउनुभयो । नेपाललाई टेस्ट राष्ट्र बनाउन सफल भएमा आफ्नो जीवनकै सबैभन्दा ठूलो खुशी मिल्ने सन्दीपको भनाईछ । आगामी शनिबार नेपाली टोली विश्वकप छनौट प्रतियोगिता खेल्न जिम्मावे जाँदैछ । नेपालको पहिलो खेल आयोजक जिम्मावेसँग फागुन २० गते खेल्दैछ ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४