काठमाडौं । नेपाल यूएईसँग ७ रनले पराजित भएको छ । विश्व क्रिकेट लिग डिभिजन टूको फाइनल खेलमा नेपाल युएर्इसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको छ ।
२७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पुरा गरेका थिए । तर पनि नेपाललार्इ जित दिलाउन सकेनन् । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए ।
पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।
शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए । रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । त्यसपछि भने ठूलो साझेदारी हुन सकेन ।
करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके । बसन्त रेग्मी ५ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो ।
युएईका लागि अस्फाक अहमदले ११४ रन जोडे । त्यस्तै रोहन मुस्ताफाले ५१, रामिज शाहाजादले नटआउट ४१, साइमान अनवरले ४० र गुलाम साबेरले १८ रन जोडे ।
बलिङतर्फ नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले १/१ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४