१० पुस, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलाभेनलाई ८ रनले पराजित गरेको छ । १ सय ४८ रनको लक्ष्य पाएको काठमाडौंलाई १ सय ३९ रनमा अलआउट गर्दैै विराटनगरले ८ रनको जित हात पारेको हो । विराटनगरको यो लगातार पाँचौँ जित हो । विराटनगर प्रतियोगितामा अहिलेसम्म एक खेल पनि नहार्ने एकमात्र टिम हो । काठमाडौंका लागि कप्तान फारविज मेहरुफले ४२ तथा नरेश बुढाऐरले ३० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । विराटनगरका लागि अंशुमन रथले तीन तथा वसन्त रेग्मी र रामनरेश गिरीले दुई दुई विकेट लिए । काठमाडौंलाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा विराटनगरका रामनरेशले २ विकेट लिँदै ८ रन मात्र दिए । काठमाडौंका सिद्धान्त लोहनीले ठूला सट हान्दै टिमलाई जिताउने प्रयास गरे पनि उनी छक्का हान्न खोज्दा आउट हुन पुगे । आजको जितपछि विराटनगर अंकतालिकाको शीर्ष स्थानमा कायमै छ भने काठमाडौं पुछारबाट दोश्रो स्थानमा धकेलिएको छ । कीर्तिपुरमा पहिले ब्याटिङ गरेको विराटनगले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । विराटनगरका लागि बाबर हायतले ६७, अंशुमन रथले ३२ र पारस खड्काले २६ रन बनाए । काठमाडौंका सोमपाल कामी र अमरसिंह रौटेलाले दुई दुई विकेट लिएका थिए । दिउँसो १ बजेपछि हुने अर्को खेलमा पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स खेल्नेछन् ।
प्रकाशित मिति: आइतबार, पुस ९, २०७४