२६ कात्तिक, काठमाडौँ । १९ वर्षमुनीको एसिया कप क्रिकेटमा भारत नेपालसँग पराजित भएको छ । यो भारतविरुद्ध नेपालको ऐतिहासिक जित हो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए । यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आउँदो मंगलबार मलेसियासँग खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४