काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ दोस्रो सातामा चीन जाने पक्का भएको छ। उनले चीनको तियानजिन शहरमा अगस्ट ३१ र सेप्टेम्बर १ मा हुने सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरूको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्।
उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित हुनेछन्। यस क्रममा प्रधानमन्त्री ओलीले दुबै नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले भारतको औपचारिक यात्रा गर्ने तयारी गरेका छन्। यसअघि उक्त सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिता हुनेबारे छलफल भए पनि अन्ततः प्रधानमन्त्रीलाई पठाउने निर्णय भएको हो।
प्रधानमन्त्री ओलीले गत वर्ष पदभार सम्हालेपछि पहिलो वैदेशिक यात्रा चीनमै गरेका थिए। यो एक वर्षभित्रको दोस्रो चीन यात्रा हुनेछ। विश्व राजनीतिको दुई ध्रुवीय अवस्थाबीच हुने यो सम्मेलनलाई महत्वपूर्ण मानिएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०८२