काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएको उमेर सीमा र कार्यकालसम्बन्धी विवाद पूर्णतः समाधान भइसकेको बताएका छन्।
कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्दै उनले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको विषयमा देखिएको मतभेद अब अन्त्य भएको स्पष्ट पारे। उनका अनुसार पार्टी सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा निर्णय गरिसकेको छ, जसमा केवल नेता कर्ण थापाको मात्र असहमति छ।
पोखरेलले पार्टी विधानमा आफैले स्थगित गरेको विषयलाई पुनः कार्यकर्ता र जनतामाझ विवादको रूपमा लैजानु उचित नहुने बताए। उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने एमालेको धारणा लोकतन्त्र, पार्टी र पूर्वराष्ट्रपतिको हितका लागि भएको उल्लेख गरे। बाँकी विषयमा भने महाधिवेशनमा आधारसहित छलफल गर्न सकिने उनको भनाइ छ।
महासचिव पोखरेलले पार्टीभित्र अझै अन्तर्घात र व्यक्तिगत असुरक्षाको मनोवृत्ति कायम रहेको उल्लेख गर्दै, यसले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए। उनले "भविष्यको योजना अन्तर्गत समाज परिवर्तनका लागि पार्टी निर्माणमा लाग्नु जरुरी छ, चुनाव केवल माध्यम हो" भने।
उनले अवसरवाद र सामाजिक सञ्जालमार्फत पार्टी र नेताविरुद्ध जथाभाबी टिप्पणी गर्ने प्रवृत्ति रोक्न पनि निर्देशन दिए। पोखरेलका अनुसार, "एकता र अनुशासन बिना कुनै पनि सामाजिक परिवर्तन सम्भव छैन, एमालेका नेता–कार्यकर्ता एक भएर लागेमा ‘मिसन २०८४’ सफल हुन्छ।"
पार्टीका सबै ५ लाख सदस्यलाई पद दिन नसक्ने भए पनि समृद्ध नेपाल निर्माणको लक्ष्यसहित अघि बढ्न उनले सबैलाई आह्वान गरे।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०८२