काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफ्नो राजीनामाको घोषणा गरे।
निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिको निष्कर्ष आएपछि खतिवडालाई समेत जिम्मेवार ठहर्याउने आवाज उठिरहेको थियो। खतिवडाले भने सुरुदेखि नै सरकारी कर्मचारीका लागि दुई वर्षको कुलिङ अफ पिरियड अनिवार्य हुनुपर्ने अडानमा आफू अडिग रहेको दाबी गरे।
उनले प्रतिवेदन तयार गर्ने क्रममा त्रुटि आफू र समितिका सदस्यहरूबाट नभएको दाबी गर्दै पनि अन्तिम चरणमा गहिरिएर नहेर्नु कमजोरी भएको स्वीकार गरे। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारी प्रतिवेदन लेखनमा संलग्न रहेको उनले उल्लेख गरे।
खतिवडाले आफूलाई ‘कूटिल राजनीतिको सिकार’ बनाउन खोजिएको आरोप लगाउँदै, कुलिङ अफ पिरियडको पक्षमा उभिएका नै दोषी देखिने परिस्थिती सिर्जना गरिएको बताए। संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्याएको र कारबाहीको सिफारिस समेत नगरेको दाबी गर्दै उनले, ‘जिम्मेवारी बोध गर्दै हाँसीहाासी पदबाट राजीनामा दिन्छु’ भने।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०८२