काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको घटनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै सरकारको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनमा रोक लागेको छ।
नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका नेताहरूले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि आक्रमण गरेका थिए। उनको खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट लागेको थियो।
त्यस घटनामा आक्रमणकारी नेविसंघका नेताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत, काठमाडौंमा मुद्दा जारी रहेकै वेला सरकारले फिर्ता लिने निर्णय गरेको थियो।
यसका विरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्च अदालत पुगेका हुन्। उनको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश दिएको हो।
यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ। रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कारण पेस गर्नु भनिएको छ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०