२० भदौ, काठमाडौँ । एएफसी एसिया कप फुटबल २०१९ को छनौटमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भयो । खेलको २४ औँ मिनेटमा ताजकिस्तानले गोल गरेर अग्रता लिएको थियो । ताजकिस्तानले २९ औँ मिनेटमा दोस्रो गोल गर्यो । पहिलो हाफको अन्त्यतिर नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका बिमल घर्तीमगरले ६१ औँ मिनेटमा गोल गरेर अग्रता घटाएका थिए । त्यसपछि पाएका राम्रा अवसर नेपालले सदुपयोग गर्न सकेन र २–१ गोल अन्तरले खेल गुमायो । नेपाली टोलीले सन् २०१६ को नोभेम्बर यता कुनै पनि खेल जितेको छैन । छनौट चरणको समूह ‘ई’ मा रहेको नेपालले अहिलेसम्म दुई खेलबाट एक अंक मात्र जोडेको छ । नेपालसँग जितसँगै ताजकिस्तानले तीन अंक जोडेको छ । नेपालले अहिलेसम्म एक अंक मात्र जोडेको छ । ताजकिस्तानले यसअघिका दुई खेल हारेको थियो । यो समूहबाट फिलिपिन्सले ६ तथा यमनले ४ अंक जोडेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४