३१ साउन, काठमाडौँ । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो मैत्रीपूर्ण खेल भोलि जापानको क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले भोलि नेपाली समय अनुसार दिउँसो १ः१५ बजे गाकुइन विश्वविद्यालयसँग विजय लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले आइतबार भएको मैत्रीपूर्ण खेलमा जापानको गाम्बा ओसकाको तेइस वर्षमुनि (यू–२३) टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । एएफसी एशियन कप छनोटको तयारीमा रहेको नेपालले जापानमा पाँचवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एशियन कपअन्तर्गत आगामी भदौ २० गते नेपालमा नै हुने ताजकिस्तानविरुद्व खेल्नुअघि अन्तिम तयारीका लागि नेपाली टोली जापान पुगेको हो ।
एशियन कप छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा ताजकिस्तानको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको नेपाल एक अङ्कसहित तेस्रो स्थानमा तथा अङ्कविहीन ताजकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा छन् । समूह चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४–१ को गोलअन्तरको हार भोगेको थियो । त्यस्तै, नेपालमै भएको यमनविरुद्वको दोस्रो खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । समूह एफमा रहेको फिलिपिन्स ६ अङ्कका साथ शीर्षस्थानमा तथा चार अङ्क जोडेको यमन दोस्रो स्थानमा छन् । समूहको शीर्ष दुई टोलीले एएफसी एशियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४