२४ साउन, काठमाडौँ । त्रिवि अन्तर विभागीय दोस्रो फुटसल प्रतियोगिताको पुरुषमा स्कुल अफ म्यानेजमेन्ट र महिलामा समाजशास्त्र विभाग च्याम्पियन भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभूवन विश्वविद्यालय कमिटीद्वारा कीर्तिपुरमा आयोजित फुटसल प्रतियोगितामा पुरुषमा फिजिक्स विभाग र महिलामा म्यानेजमेन्ट विभाग दोस्रो स्थानमा रहे । साउन १९ देखि भएको प्रतियोगिताको बेस्ट प्लेयरमा अनुपम मरासिनी र बेस्ट किपरमा रुद्रमनि दाहाल घोषित भए । लिग कम नकआउटको आधारमा भएको प्रतियोगितामा कुल २८ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता खेलाडीलाई एमाले नेता शंकर पोखरेल, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्षसमेत रहेका सांसद विनोद श्रेष्ठ, भेरी नगरपालिका मेयर सिबी घर्ती, अनेरास्ववियूका उपाध्यक्ष सुनिता बराल र अनेरास्ववियूकै केन्द्रीय सदस्य सुमनराज कार्कीले पुरस्कार वितरण गरे । सोही अवसरमा नरेन्द्र आरसीको अध्यक्षतामा ३९ सदस्यीय मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटी गठन गरिएको अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्टले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७४