सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । लागि उक्त रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको हो ।
यसै गरी जिल्ला अस्पताल बैतडीमा नमूना परीक्षण गर्ने पिसिआर मेसिन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न बैतडीकै रुदेश्वर स्वास्थ्य चौकी, दार्चुलाको देवल स्वास्थ्य चौकी, डोटीको दौड स्वास्थ्य चौकी र अछामको कमलबजार नगरपालिकालाई समेत गरी थप एक करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको सुदूरपश्चिम प्रदेश, कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं मुख्य मन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
प्रदेशमा गएको दुई दिनमा केही घटेको देखिएको कोरोना भाइरसको सङ्क्रमण दरको ‘ग्राफ’ पछिल्लो २४ घण्टामा फेरी उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार गएको २४ घण्टामा पिसिआर र एन्टिजेन पद्धतीबाट जम्मा दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा झण्डै ४३ प्रतिशत अर्थात् ९५३ जनामा सङ्क्रमण भएको छ ।
यस अघि सोमवार एक हजार ५३५ को नमूना परीक्षण गर्दा झण्डै ३७ प्रतिशत अर्थात् ५६३ जनामा र मङ्गलवार एक हजार ७०३ को नमूना परीक्षण गर्दा ४१ प्रतिशत अर्थात् ६९९ जनामा सङ्क्रमण देखिएको थियो ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलालीका सात, कञ्चनपुरका छ र बाजुरा तथा दार्चुलाका एक÷एक गरी १५जना सङ्क्रमितको मृत्यु भएको छ । यसै बीच प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा भइरहेको अक्सिजनको अभावपछि अस्पतालमा ३३ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । जडानसँगै अस्पतालमा कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन केही सहज भएको अस्पतालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८