वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी कार्यक्रम तत्कालका लागि स्थगन (पज) गर्ने घोषणा गरेको छ। राष्ट्रिय सुरक्षा तथा आप्रवासन प्रणाली सुधार आवश्यक रहेको दाबी गर्दै यो निर्णय लिइएको हो।
राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले ‘ग्रीन कार्ड लटरी’ भनेर चिनिने डीभी कार्यक्रम रोक्ने आदेश दिएकी हुन्। यस कार्यक्रममार्फत कम आप्रवासन दर भएका देशका नागरिकलाई वार्षिक रूपमा लटरी प्रणालीबाट अधिकतम ५० हजारसम्म स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) दिँदै आइएको थियो।
प्रशासनका अनुसार हालै ब्राउन युनिभर्सिटी र एमआईटीसँग सम्बन्धित हिंसात्मक घटनासँग यो निर्णय जोडिएको छ। ती घटनाका मुख्य संदिग्ध क्लाउडियो मानुएल नेभेस भालेन्ते सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेको तथ्य सार्वजनिक भएपछि कार्यक्रमको सुरक्षा पक्षमाथि पुनः प्रश्न उठेको बताइएको छ।
सेक्रेटरी नोएमले सामाजिक सञ्जाल एक्समार्फत डीभी कार्यक्रमलाई ‘राष्ट्रिय सुरक्षाका लागि जोखिम’ भन्दै तत्काल स्थगन गरिएको जानकारी दिएकी छन्। उनका अनुसार राष्ट्रपति ट्रम्पको निर्देशनमा कार्यक्रम रोकिने निर्णय गरिएको हो।
ट्रम्प प्रशासन यसअघि पनि डीभी लटरी कार्यक्रमको आलोचना गर्दै आएको छ। ट्रम्पले यसलाई मेरिट–आधारित आप्रवासन प्रणालीले प्रतिस्थापन गर्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। सन् २०१७ मा न्यूयोर्कमा भएको ट्रक आक्रमणपछि पनि उनले डीभी कार्यक्रम खारेज गर्ने प्रयास गरेका थिए।
यद्यपि डीभी कार्यक्रम अमेरिकी कांग्रेसबाट कानुनी रूपमा स्थापित भएकाले यसलाई पूर्ण रूपमा खारेज गर्न कानुनी चुनौतीहरू आउन सक्ने विश्लेषकहरूको भनाइ छ। कार्यक्रमको सञ्चालन मुख्य रूपमा स्टेट डिपार्टमेन्टले गर्ने भए पनि यसको केही प्रक्रिया होमल्याण्ड सेक्युरिटी मातहतको यूएससीआईएसले हेर्ने भएकाले प्रशासनले अस्थायी रूपमा स्थगन गर्न सकेको जनाइएको छ।
डीभी २०२५ का लागि करिब २ करोड आवेदकले आवेदन दिएका थिए, जसमा एक लाख ३१ हजारभन्दा बढी (पति–पत्नी सहित) छानिएका थिए। डीभी २०२६ को आवेदन प्रक्रिया चलिरहेको अवस्थामा यो स्थगनले त्यसमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२