२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । एन्फाको बुधबारको बैठकमा सदस्यहरुले एएफसी एशिया कपको दोस्रो चरणको खेल खेल्न नपाएबापत थ्रीस्टारलाई १ करोड ५० लाख क्षतिपूर्ति र ३ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने व्यवस्था मिलाउनु पहिले घटनाका दोषीहरुलाई कारबाहीको माग गरेका थिए । क्षतिपूर्ति अनुमोदनबारे छलफल सुरु भएपछि बैठकमा केन्द्रीय सदस्यहरुबीच चर्काचर्की समेत भएको एक जना एन्फाका सदस्यले बताए । बुधबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले दोषीलाई कारबाही गर्ने र आसन्न साधारसभाबाट थ्रीस्टारलाई दिने क्षतिपूर्ति अनुमोदन गराउनुपर्ने माग गरेका थिए । थ्रीस्टार क्लवलाई क्षतिपूर्ति दिने विषयमा विवाद बढेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४