९ साउन, काठमाडौं । १९ वर्षमुनीको आइसीसी विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि राहित कुमार पौडेलले अविजित ३४ रन जोडे । ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापामगरले पनि ८ रनमात्र बनाउन सके । यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । न्युजिल्याण्डमा हुने आइसीसी यू–१९ विश्वकपका लागि एसियाली छनौटमा चार टिमले एक अर्काविरुद्ध दुई खेल खेल्नेछन् । अफगानिस्तानसँगको अन्तिम खेल बाँकी रहँदा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान प्रतियोगिताको एकमात्र अविजित टोली हो र उसको १० अंक छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४