काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसइई परीक्षा जेठको अन्तिम साता गर्ने गरी तयारी थालेको छ । एक साताको फारकमा २०७८ साल जेठको तेस्रो साता एसइई र अन्तिम साता कक्षा १२ को परीक्षा लिने गरी तयारी थालिएको बोर्डले जनाएको छ ।
यसबारे बोर्डले आन्तरिक तयारी थालेकोले चैत्रभित्रमा परीक्षाको कार्यतालिकाबारे औपचारिक निर्णय गरिने जनाएको छ ।
विगतका वर्षमा चैतमा एसइई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुने गरेको थियो । यस वर्ष कोरोना भाइरस महामारीका कारण शैक्षिक शत्रमा बाधा पर्न लागेकोले जेठमा परीक्षा भएमा शैक्षिक सत्र खेर नजाने बोर्डको भनाइ छ ।
बोर्डका अनुसार फागुन ६ गतेसम्म देशभरका एसइईका विद्यार्थीले रजिस्ट्रेसन फाराम भरिसकेका छन्। हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको छ। सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने आकलन गरिएको छ। त्यसपछि मात्र आगामी वर्ष एसइई दिने विद्यार्थीको सङ्ख्या यकिन हुनेछ।
सरकारले यसअघि नै एक विद्यालय छोडेर अर्को विद्यालय जाने विद्यार्थीलाई लक्षित गरी कक्षा १० मा समेत स्थानान्तरणको सुविधा दिने निर्णय गरिसकेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७