९ जेठ, काठमाडौँ । प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको उद्घाटन खेलमा आर्मीले पूर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले आर्मीलाई १०४ रनको लक्ष्य दियो । पूर्वाञ्चलले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको सामान्य योगफल खडा गरेको थियो । त्यस्तै १०४ रनको विजय लक्ष्य पच्छाएको आर्मीले १८ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । ओपनर महेश क्षेत्री इनिङको पहिलो बलमै आउट भए पनि अनिल मण्डल र सागर पुनले १०७ रनको अविजित साझेदारी गर्दै आर्मीलाई जित दिलाए । ६३ बल खेलेका मण्डलले आठ चौका प्रहार गर्दै ५६ रनको अर्धशतकीय पारी खेले भने ४८ बल खेलेका पुनले एक छक्का र ३ चौकाको मद्दतमा ४० रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलका लागि मेहबुब आलमले सर्वा्धिक ३६ रनको योगदान दिए भने विधान गोस्वामीले १९ तथा अङ्कित सुुवेदीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । पूर्वाञ्चललाई सस्तैमा समेट्ने क्रममा आर्मीका सागर पुन एक्लैले ५ विकेट लिए भने शुशान भारीले ३ तथा सोमपाल कामीले २ विकेट लिए । प्रतियोगितामा आर्मीका सागर पुन ‘म्यान अफ द म्याच’ घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । भोलि नेपाल पुलिस क्लब र सुदूरपश्चिममाञ्चल विकास क्षेत्रबीच प्रतिस्पर्धा हुनेछ । सर्वा्धिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०७४