काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ ।
पार्टी एकताको तयारीका लागि समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा भएकाे छलफलपछि पार्टी एकताका लागि सहमति जुटेकाे हाे ।
सहमति अनुसार नयाँ पार्टीकाे झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने छ भने चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुने छ ।
सहमतिपत्रमा राजपका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समाजवादी पार्टीकी नेता रेणु यादवको नेतृत्वमा १० जना सांसदहरुले पार्टी फुटाउने तयारी गरेपछि समाजवादीले एकताका लागि तिव्रता दिएकाे थियाे
समाजवादीका मोहम्मद इस्तियाक राई, विमल श्रीवास्तव, रेनुका गुरुङ, उमाशंकर अरगरिया, प्रदीप यादव, सुरेन्द्र यादव, कलुदेवी विकलगायतले पार्टी विभाजनको तयारी गरेका थिए ।
छलफलका क्रममा एकीकृत पार्टीकाे अध्यक्षमा महन्त ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महताे तथा वरिष्ठ नेतामा अशाेक राई, शरतसिं भण्डारी, महेन्द्र यादवलगायत रहेन गरी खाका बनिरहेकाे छ ।
समाचार स्राेतका अनुसार आजै निर्णय हुने र बिहीबार (भाेलि) ने पार्टी एकीकरणको घोषणा हुन सक्ने छ ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७