विराटनगर । केपी शर्मा ओलीले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताएका छन्। उनले अहिले अनावश्यक रूपमा संविधान संशोधनको बहस उठाएर राजनीतिक अस्थिरता सिर्जना गर्न खोजिएको टिप्पणीसमेत गरे।
आफ्नो गृह निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत दमकमा आयोजित कार्यक्रममा बोल्दै केपी शर्मा ओलीले नेपाली कांग्रेससँग सहकार्यमा सरकार गठन हुँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख गरिएको स्मरण गराए। तर त्यसबेला विकसित राजनीतिक परिस्थितिका कारण उक्त विषय अघि बढ्न नसकेको उनले बताए।
“जनतालाई आवश्यक, देशलाई अघि बढाउने र समयानुकूल विषयहरू समेटेर उपयुक्त अवस्थामा संविधान संशोधन गरिन्छ,” उनले भने।
उनले आगामी निर्वाचन नजिकिँदै जाँदा केही तत्वहरू समाजमा विद्वेष र अराजकता फैलाउन सक्रिय भएको आरोप लगाए। रौतहटमा भएको पछिल्लो घटनालाई संकेत गर्दै उनले चुनावी वातावरण धमिल्याउने र समुदायबीच फाटो ल्याउने प्रयास भइरहेको दाबी गरे।
एमाले सधैँ जनताको बीचमा हुर्किएको र जनताकै विश्वासमा टिकेको पार्टी भएको उल्लेख गर्दै उनले जनतामाझ जान कुनै डर नरहेको बताए। तर निर्वाचनमा पराजय देख्नेहरूले समाज भाँड्ने गतिविधिमा संलग्न भएको उनको भनाइ थियो।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ का उम्मेदवारसमेत रहेका ओली यतिबेला आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित छन्।