पदम कार्की र धनराज भट्ट ‘डोटेली’को एकदमै मिठो नयाँ देउडा गीत “घरबार भुलाइकन” बुधबार New Kafali Music Pvt. Ltd. युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। भक्त साउँद ‘चमत्कार’को शब्द सिर्जना रहेको गीतको लय पदम कार्कीले सिर्जना गरेका छन्। द म्युजिक इरा स्टुडियोमार्फत अडियो तयार गरिएको उक्त गीतको एरेन्ज कृष्ण बाजुरेलीले गरेका हुन्।
बिहे भएर सन्तान भइसकेपछि दोस्रो बिहे गरी श्रीमती र सन्तानलाई बिचल्ली पारेर घर छोडी दोस्रो श्रीमतीसँग अन्तै बस्दै गरेका श्रीमानको नयाँ सम्बन्धमा खटपट भएपछि पुरानो श्रीमती र सन्तानलाई सम्झिँदै दुवैलाई मिलाएर सँगै बस्न आग्रह गर्ने कथावस्तु गीतमा समेटिएको छ।
आफ्नो श्रीमानसँग अर्कैले हक जमाएको कसलाई मन पर्छ र? दुवै जना श्रीमतीले श्रीमानलाई आफूसँग बस्न दबाब दिन्छन्। नयाँ श्रीमतीले बिहे भएर पनि आफूलाई किन फसाएको भन्दै रिसाउँछिन् भने घरकी श्रीमतीले “म हुँदा हुँदै किन अर्की ल्याएको? कम्तिमा सन्तानको बारेमा त सोच्नुपर्ने” भन्दै आक्रोश व्यक्त गर्छिन्।
दुवैले नमानेपछि श्रीमानले गाउँ–समाजका मानिसलाई साक्षी राखेर मिलेर बस्ने वातावरण सिर्जना गर्छन्। अन्ततः दुवै जना सँगै बस्न तयार भए पनि भित्री मनबाट खुशी नभई मन नलागी सँगै बस्ने अवस्थाको चित्रण गीतमा गरिएको छ। यसरी सामाजिक कुसंस्कारको यथार्थ झल्काउने प्रयास “घरबार भुलाइकन” मा गरिएको छ।
गीतमा हेम प्रकाश भट्ट, मनिषा रावल, पृया क्षेत्री, युवराज अवस्थी लगायतका कलाकारहरूको अभिनय रहेको छ भने भिडियोको निर्देशन रमेश बिजुली बी.सी.ले गरेका छन्। छायांकन अमृत उपाध्यायले गरेका हुन् भने सम्पादन र कलर क्रमशः गणेश साउँद र शंकर साउँदले जुम प्रोडक्सनमार्फत गरेका छन्।
गायक पदम कार्की र धनराज भट्टका अनुसार समाजमा यस्ता घटना थुप्रै देखिने भएकाले यथार्थ कथावस्तुलाई गीतमार्फत प्रस्तुत गरिएको हो। दर्शक–श्रोताले “मन बसिग्यो मेरो” जस्तै यस गीतलाई पनि माया गर्ने अपेक्षा टोलीले गरेको छ। साथै टिकटक र रिल बनाएर टिमलाई प्रोत्साहन गरिदिन अनुरोध गरिएको छ।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२