काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि अनिवार्य रहेको बताएका छन्। गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा भइसकेपछि विभिन्न हल्ला र संशय फैलाइए पनि मतदान प्रक्रिया कुनै हालतमा नरोकिने स्पष्ट पारे।
उनले “निर्वाचनको विकल्प निर्वाचन नै हो” भन्दै केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ भन्ने भ्रम फैलाउने प्रयास गरेको आरोप लगाए। “नेपाली जनता कसैको कुण्ठा पूरा गर्न साक्षी बस्दैनन्। २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ,” उनले दृढता व्यक्त गरे।
सञ्चारमाध्यम र आयोग: सहकार्यको आवश्यकता
आयोग र सञ्चार क्षेत्रलाई एउटै सिक्काका दुई पाटा जस्तै रहेको उल्लेख गर्दै भण्डारीले निर्वाचन व्यवस्थापन आयोगको जिम्मेवारी भए पनि निर्वाचनको माहोल निर्माण गर्ने र मतदातालाई सुसूचित गराउने भूमिका सञ्चारकर्मीको महत्वपूर्ण हुने बताए। सञ्चारमाध्यमको सकारात्मक भूमिकाले नै निर्वाचन वातावरण परिपक्व बनेको उनको धारणा थियो।
मत सर्वेक्षणविरुद्ध कडा सन्देश
निर्वाचन आचारसंहिताको पालना अनिवार्य रहेको उल्लेख गर्दै उनले मतदानअघि गरिने मत सर्वेक्षणप्रति गम्भीर आपत्ति जनाए। यस्ता सर्वेक्षणले मतदाताको मनोविज्ञान प्रभावित पार्न सक्ने र निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले यसलाई वर्जित गरिएको उनले स्पष्ट गरे।
“संविधानले दिएको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन,” उनले भने, “मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम सिर्जना गर्न सक्छ, जुन समग्र निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ।”
नयाँ मतदाता र युवाको उत्साह
यसपटक ९ देखि १० लाख नयाँ मतदाता थपिनुलाई उनले सकारात्मक संकेतका रूपमा व्याख्या गरे। तीमध्ये ठूलो हिस्सा युवाहरूको रहेको उल्लेख गर्दै उनले युवाको सहभागिताले सुशासन र उत्तरदायित्वप्रति नयाँ आशा जगाएको बताए।
पर्यवेक्षणमा कडाइ
स्वदेशी तथा विदेशी पर्यवेक्षक संस्थाहरूले आफ्नो सीमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै उनले विगतमा केही संस्थाले मत प्रभावित पार्ने गतिविधि गरेको अनुभव सुनाए। सञ्चारकर्मीहरूलाई पनि पर्यवेक्षकका गतिविधिमाथि ‘तेस्रो आँखा’का रूपमा निगरानी राख्न आग्रह गरे।
मुलुकलाई लयमा फर्काउने अवसर
राजनीतिक अस्थिरता र प्रतिनिधिसभा विघटनपछिको परिस्थितिमा हुन लागेको यो निर्वाचनले मुलुकलाई पुनः संवैधानिक लयमा फर्काउने विश्वास उनले व्यक्त गरे। “यो शताब्दीकै पेचिलो निर्वाचन भए पनि हामीले यसलाई सहज बनाइसकेका छौँ,” उनले भने, “निर्वाचनपछि आउने जनप्रतिनिधिले जनमतको कदर गर्दै शान्ति र सुशासनलाई संस्थागत गर्नेछन्।”
अन्त्यमा उनले निर्वाचन सम्पन्न गर्ने “पवित्र यज्ञ”मा सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सरोकारवालालाई जिम्मेवार भूमिका निर्वाह गर्न र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न अपिल गरे।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२