काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेइरालाले नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदकाे जिम्मा दिनु नहुने बताएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै काेइरालाले सेनालाई औषधि किन्ने भन्दा दक्षता अनुसारको कामको जिम्मा दिन सरकारलाई सुझाव दिएका छन् ।
महासंकटको यस्तो अवस्थामा समेत सरकार संवेदनशील नभएको र औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रक्रियामा अनियमितता भएको र प्रक्रिया रद्द भएसँगै सरकार जहाँको त्यही भएको छ , विज्ञप्तिमा उनले भनेका छन्, यस्तो असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गरेर पुग्दैन । सेनालाई औषधि किन्ने जिम्माभन्दा दक्षता अनुसारको कामको जिम्मा दिऔँ ।
यसैगरी दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई स्वास्थ्य परीक्षण गरी नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न पनि उनले माग गरेका छन् ।
हेर्नुहाेस् विज्ञप्तिः
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९)संग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले सरकारलाई निरन्तर साथ दिँदै आएको छ । लकडाउनलाई अझ बढी प्रभावकारी बनाउन नागरिकमा यसको उद्देश्य र असरको बारेमा सचेतना फैलाउनु जरुरी छ ।
सरकारले हालसम्म कोरोनाभाइरसको संक्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको र तिनको प्रभावकारिता र विश्वसनीयतामा नै प्रश्न उठ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छुु । अति आवश्यक स्वास्थ्य उपकरणहरुको खरिद प्रक्रियाहरु विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाणहरु सञ्चारमाध्यमबाट आइरहेका छन् ।
यसको निस्पक्ष छानबिन क्रमशः हुने नै छ । अहिलेको प्राथमिकता कोरोना संक्रमण रोक्नु हुँदाहुँदै पनि अस्पतालको निरन्तर र आकस्मिक सेवा पाउनुपर्ने बिरामीले उपचार नपाएर ज्यान जोखिममा परेको खबरलाई गम्भीर रुपमा लिन समेत सरकारलाई आग्रह गर्दछु ।
कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुध्नका लागि सरकारले आजसम्म गरेका तयारी र कामको एकपटक समीक्षा गर्दै परिणाममुखी काम गर्न सरकारसंग अपिल गर्दछु ।
कोरोना भाइरस नियन्त्रण सम्बन्धमा सरकारले गरेका तयारीका विषयमा परिणाममुखी काम नभएकामाविभिन्न माध्यमबाट प्रश्नहरु उठेका छन् । महासंकटको यस्तो अवस्थामा समेत सरकार संवेदनशील नभएको र औषधि उपकरण ल्याउन दिएको ठेक्काको खरिद प्रक्रियामा अनियमितता भएको र प्रक्रिया रद्द भएसँगै सरकार जहाँको त्यही भएको छ ।
यस्तो असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गरेर पुग्दैन । सेनालाई औषधि किन्ने जिम्माभन्दा दक्षता अनुसारको कामको जिम्मा दिऔँ । यस्तो प्रवृत्तिले हाम्रो प्रणाली कमजोर हुन्छ । सरकारले विशेषज्ञहरुको सुझाव लिँदै थप तयारीका साथ अघि बढ्न म आग्रह गर्दछु ।
- स्वास्थ्यकर्मीका लागि अनिवार्य पिपिईको प्रयाप्त प्रबन्ध लकडाउन भएको १३ दिनसम्म पनि गर्न नसक्नुले सरकारको संवेदनशीलता र कार्यदक्षतामा नै आम नागरिकमा शंका उत्पन्न भएको छ । सम्भावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन नसक्नु सरकारको ठुलो कमजारी हो ।
सरकारले परीक्षण सामग्री किन्यो भनेर जनता आश्वस्त हुन एक दिन पनि पाएनन् । विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देशन दिएका सामग्री नेपालले किनेको भन्ने खवरले जनता झन त्रसित भएका छन् । प्रयोगशालाका प्रविधिक र डाक्टरहरुको यसमा चासो छ । यी विषयहरुमा सरकारले जनतालाई विश्वासमा लिँदै थप पारदर्शी हुन म सरकारको ध्यानाकर्षण गर्दछु ।
- सरकारले अभिभावकत्व लिँदै दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आयस्तरका नागरिकको राहत प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर ब्यवहारमा उतार्न सरकारलाई आग्रह गर्दछु । राहत वितरणका लागि स्थानीय सरकारको भूमिका नै प्रभावकारी हुन्छ । तत्काल स्थानीय निकायमा राहत सामग्री पठाउन सरकारलाइ आग्रह गर्दछु ।
- कोरोना महामारीको संकटसँग लड्ने रणनीतिका कारण संकटमा परेका विश्वभर रहेका सबै देश फर्कन चाहने नेपाली नागरिकलाई सरकारले घर फर्काउने र दशगजा क्षेत्रमा देश प्रवेश गर्न नपाएका अलपत्र नागरिकहरुलाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन म सरकारलाइ आग्रह गर्दछु ।
- लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पूर्वक ल्याएर परीक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु । देशमा औषधि अभाव हुन नदिन औषधि र औषधिजन्य पदार्थको आयातका लागि सरकारले योजनासहित अघि बढोस् ।
- स्वास्थ्यप्रति सचेत रहँदै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र लकडाउनको अवज्ञा नगरी यस संकटमा संयम हुन आमनागरिकमा अपिल गर्दछु । अतिआवश्यक काम नपरी घरबाट बाहिर नजाऔँ र सुरक्षकर्मीले पनि औचित्यका आधारमा व्यवहार गर्न आग्रह गर्दछु ।
अन्य देशले हासिल गरेको सफलता र असफलता र दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको राष्ट्रिय कर्तव्य रहेको म नेपाली कांग्रेसको तर्फबाट सरकार, सम्बन्धित निकाय र जनतामा अपिल गर्न चाहन्छु ।
जय नेपाल ।
डा. शशांक काेइराला
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६